प्रभु बैंकले हरित लगानी अन्तर्गत विद्युतीय सवारी किन्न लक्जेम्बर्गबाट ५० लाख डलर ऋण ल्याउने

प्रभु बैंकले हरित लगानी अन्तर्गत विद्युतीय सवारी किन्न लक्जेम्बर्गबाट ५० लाख डलर ऋण ल्याउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर बराबरको ऋण भित्र्याउने भएको छ ।

विश्व वातावरण दिवशको अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्षका लागि उक्त ऋण सुविधा बैंकले प्राप्त गरेको हो । जलवायु परिवर्तनलाई टेवा पुग्ने हिसावले सो रकम सोही क्षेत्रमा लगानी गर्नेछ ।

बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए ।

‘यो रकम विद्युतीय गाडि आयात र त्यसको फाइनान्समा खर्च हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ‘अन्य एजेन्सीसँग पनि वित्तीय स्रोतको रूपमा ऋण ल्याउनेगरी छलफल भइरहेको छ ।’

प्रभु बैंकले वैकल्पिक ऊर्जा व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको जनाएको छ । निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने बैंकको विश्वास छ ।