नेशनल माइक्रोफाइनान्सले समिट लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारणसभा

नेशनल माइक्रोफाइनान्सले समिट लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३ गते विशेष साधारणसभा बोलाएको छ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । 

समीट लघुवित्तले समेत मर्जरसहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३ गते नै वार्षिक साधारण सभा बोलाएको छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर हुने गरी शेयर आदानप्रदान गर्ने सहमति दुई कम्पनीबीच भएको छ । 

नेशनल माइक्रोफाइनान्सले सभामार्फत मर्जरपछि कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ५० करोड र जारी पूँजी रू. १ अर्ब ८ करोड ४२ लाख ६ हजार हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ ।

मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने जानकारी कम्पनीले दिएको छ ।

नेशनल माइक्रोफाइनान्सले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।