लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद जेठ ३० सम्म लम्बियो

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद जेठ ३० सम्म लम्बियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा अब जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र जेठ १९ गतेसम्मका लागि निष्कासन गरेको थियो । यस अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि जेठ ३० गतेसम्म बिक्री खुला गरिने जानकारी बैंकले दिएको छ ।

बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरीदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।