रावा इनर्जिको आईपीओ आजदेखि सर्वसाधारणका लागि विक्रीमा

रावा इनर्जिको आईपीओ आजदेखि सर्वसाधारणका लागि विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज (जेठ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गरेकोे हो ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । सोमध्ये ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो । सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ३२ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युरअर रेटिङ्ग प्रदान गरेको छ ।