बैंकिङ्ग समाचार, काठमाडौं ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।
साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४.०१ प्रतिशत र सर्वसाधारण शेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्काशन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको अनलाईन सफ्टवेयर ‘मेरो शेयर’ प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया