नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । मागभन्दा बढी आवेदन पर्न आएकाले जेठ १४ गतेसम्म मात्र आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४ दशमलव ९९२२ प्रतिशत आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँ बराबरका ४३ लाख ५३ हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्रीपछि कम्पनीले जेठ २६ गतेदेखि सर्वसाधारणमा विक्री गर्नेछ । 

१० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री पछि बाँकी रहेको शेयरमध्ये पनि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  यी वाहेक बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउनेछ ।