शेयर बजारको वृद्धि आज पनि कायमैः १६.४९ अंकले नेप्से बढ्दा १ अर्ब ८७ करोडको कारोबार

शेयर बजारको वृद्धि आज पनि कायमैः १६.४९ अंकले नेप्से बढ्दा १ अर्ब ८७ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढ्ने क्रम आज पनि जारी रहेको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से १६.४९ अंकले बढेर १ हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ५१.३१ अंकले बढेर १ हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको थियो ।

नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार २ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १,५०३ रुपैयाँ पुगेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ पुगेको छ ।

नेप्सेका आज अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।