बैंकिङ्ग समाचार, काठमाडौं ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा एफपीओ निष्काशन प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टी प्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलन गर्न ८ लाख ५३ हजार ६६५ कित्ता शेयर प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
यस्तै, समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १८ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया