बैंकिङ्ग समाचार, काठमाडौं ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएकोछ । यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको कम्पनीले अब सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा आईपीओ विक्री गर्ने तयारी गरेको हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँड गरेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्तासमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । योमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा जेठ २२ गतेसम्म आईपीओ विक्रीको अवधि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने जेठ ३२ गतेसम्म विक्री लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
यस कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया