बैैकिङ्ग समाचार,काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको छ । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले वैशाख २० गते आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू साधारणसभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृति प्रदान गरेपनि लाभांश सम्बन्धमा कुनै निर्णय नगरेको कम्पनीको भनाई छ ।
नेपाल राष्ट्र बैंकले पत्रमा लाभांशको बारेमा नखुलाएपछि कम्पनीले वैशाख २० गते पुनः लाभांश स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष अनुरोध गरेको थियो । हालसम्म पनि राष्ट्र बैंकबाट लाभांशका सम्बन्धमा कारवाही नभएकाले प्रस्तावित लाभांश रद्ध गर्ने निर्णयमा कम्पनी पुगेको हो ।
कम्पनीको हाल चुक्तापूँजी रू. २६ करोड रहेको छ । सोही पूँजीको आधारमा रू. ३ करोड ७० लाख ५० हजार बराबरको बोनस शेयर र रू. १९ लाख ५० हजार बराबरको नगद लाभांश गरी कुल रू. ३ करोड ९० लाख बराबरको लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको थियो ।
प्रतिक्रिया