देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिः विदेशी मुद्रा सञ्चिति सवा १४ खर्ब नाघ्यो

देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिः विदेशी मुद्रा सञ्चिति सवा १४ खर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको नौ महिना सम्मको तथ्यांकमा देशमा विदेशी मुद्राको सञ्चिति सुध्रिदै गएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति विवरणअनुसार चालु आवको नौ महिनामा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ भएको जनाएको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकले पछिल्लो नौ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.६ प्रतिशत रहेको जनाएको छ । २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।