बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन बीमा क्षेत्रकै बिग मर्जरको रूपमा रहेको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले आज बैशाख २६ गते मंगलवारदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।
तीन कम्पनी एकीकृत भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’ नामबाट एकीकृत कारोबार शुरू गरिएको हो । गत वैशाख २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले माघ १ गते अन्तिम सम्झौता गरेका थिए । प्रारम्भिक सम्झौता गरेको एक वर्षमा यी कम्पनीहरूले मर्जर प्रक्रिया पूरा गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले मर्जरको नीति अख्तियार गरेसँगै जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
तीन कम्पनीले २०७९ बैशाख २९ गते मर्जरको सहमति गरेको आधारमा ३६२ औ दिनमा एकिकृत कारोबार गर्न सफल भएका हुन् । लेखापरीक्षणका कारण मर्जरमा ढिलाइ भए पनि तीन कम्पनीले विग मर्जरको इतिहास रच्न सफल भएका छन् ।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थान मनकामना मार्ग नक्साल, काठमाडौंमा रहेको छ । पछिल्लो व्यवस्थाअनुसार जीवन बीमा कम्पनीले रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्छ । समान हैसियतमा एक भएका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुगेको छ ।
प्राइम लाइफले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ ।
युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ ।
मर्जरपछि बनेको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा साबिक युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण रहेका छन् । साबिक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कर्ण र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ ।
प्रतिक्रिया