बैंकिङ्ग समाचार, काठमाडौं ।
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ ।
सो फण्डको इकाईका लागि अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा बैशाख ३१ गतेभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा कम्तीमा ५० प्रतिशत अर्थात ६ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।
प्रतिक्रिया