बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको रू. १ अर्ब बराबरको सो ऋणपत्र बाँडफाँट गरेको हो ।
बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो भने ४० प्रतिशत अर्थात रू. ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरेको हो ।
२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई ऋणपत्र बाँडफाँड गरिएको हो । ऋणपत्र विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
प्रतिक्रिया