ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

ईङवा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
ईङवा हाइड्रोपावर लिमिटेडले आज बैशाख १३ गते बुधवारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब दोस्रो चरणको आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ३ लाख ६ हजार ८४० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख २० हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशत दरको ६ लाख कित्ता शेयर विक्री खुला गरिएकोमा २ लाख ९३ हजार १६० कित्ता शेयर भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा विक्री खुला गरेको हो । 

स्थानीयमा विक्री हुन नसकेको शेयरसमेत गरी सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । २ प्रतिशत दरको २९ हजार ८६३ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि वैशाख २७ गतेसम्म विक्री लम्बिनेछ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै आवेदनका लागि मेरो शेयर सफ्टवेयर र एपसमेत प्रयोग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबलबी इस्युअर रेटिङ प्रदान गरेको छ ।