नेप्सेमा घट्ने क्रम जारीः १९ सयको बिन्दु तल पुगेको बजारमा ८२ करोडको मात्र कारोबार

नेप्सेमा घट्ने क्रम जारीः १९ सयको बिन्दु तल पुगेको बजारमा ८२ करोडको मात्र कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि दोहोरो अंकको गिरावट जारी रहेको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से १८.८० अंकले घटेर १ हजार ८ सय ८५ दशमलब ६० विन्दुमा बन्द भएको हो । बिहिवार नेप्से १५.७३ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । नेप्सेमा आज ८२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार तिन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर १,३३६.५० रुपैयाँ पुगेको छ भने सनराइज ब्लु चिप फण्डको शेयरमुल्य १० प्रतिशतले बढेर ९.३४ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८८८.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सनराइज फोकस्ड् इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी मोलुङ्ग हाइड्रोपावरको शेयरको भएको छ । यस कम्पनीको आज ३ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।