बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत बैशाख ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सिटिजन्स सुपर ३०’ म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो म्युचुअल फण्डको इकाईका लागि अब बैशाख २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो । सोमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
छिटो अवधि वैशाख १० गतेसम्म माग बमोजिम आवेदन नपरेपछि क्यापिटलले ढिलो अवधि वैशाख २० गतेसम्मको विक्री अवधि तय गरेको हो । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ ।
योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।
योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारी समेत सिटिजन्स क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनको प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया