एनएमबि बैंकको नाफा साढे २ अर्ब माथि, इम्पेरमेन्ट चार्ज बढेपछि नाफा बढ्न सकेन

एनएमबि बैंकको नाफा साढे २ अर्ब माथि, इम्पेरमेन्ट चार्ज बढेपछि नाफा बढ्न सकेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत बढेर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफाको वृद्धिदर १.१९ प्रतिशतमा सीमित भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको छ ।