बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज फेरि दोहोरो अंकको गिरावट भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से १५.७३ अंकले घटेर १ हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको हो । बुधवार नेप्से १५.१३ अंकले बढेर १ हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । नेप्सेमा आज ९८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ८७ करोड २१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीकोे शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०७.८० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २४९.५० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आदर्श लघुवित्त वित्तीय संस्था र एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि दुवैको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको शेयरको भएको छ । यस कम्पनीको आज ५ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया