बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा १२.८८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकले १ अर्ब ५५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १४.७८ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो । यता ब्याज आम्दानी बढेपनि बैंकको संचालन मुनाफा घटेका कारण बैंकको नाफा प्रभावित बन्न पुगेको हो ।
यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको ईपीएस घटेर १७.५७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २०.१७ रुपैयाँ थियो ।
बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।
प्रतिक्रिया