बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते, सोमबार विशेष साधारणसभा बोलाएका हुन् ।
युनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने अजोड इन्स्योरेन्सको सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
दुवै कम्पनीको सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् ।
अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सबीच शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता शेयर हुने शेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् ।
विशेष साधारण सभा प्रयोजनार्थ यूनाइटेड इन्स्योरेन्सले बैशाख १३ गते बुकक्लोज गर्नेछ भने अजोड इन्स्योरेन्सले बैशाख १२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार सो दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी इन्स्योरेन्सको विशेष साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया