भूगोल इनर्जिको आईपीओ बाँडफाँड, ३ जना आवेदकले पाए ११ कित्ता शेयर

भूगोल इनर्जिको आईपीओ बाँडफाँड, ३ जना आवेदकले पाए ११ कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ आइतवार बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर बाँडफाँड गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोला प्रथाको माध्यमबाट बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ १ लाख ३४ हजार ६९९ जना योग्य आवेदकले शेयर प्राप्त गरेका छन् । यी आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा बाँकी रहेको तीन कित्ता शेयर यीमध्येकै तीन जना आवेदकले थप एक कित्ताका दरले पाएका छन् । कम्पनीको आईपीओ पाउने आवेदकमध्ये तीन जनाले ११ कित्ता शेयर पाएका हुन् ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ ओटा आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ११ लाख ४९ हजार १५१ ओटा आवेदक रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को ३० प्रतिशत दरको १६ लाख ३२ हजार १६० कित्ता शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरिसकेको छ । कर्मचारीमा सुरक्षित गरिएको शेयरसमेत बाँडफाँटपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।