ब्याजदरको सकारात्मक प्रभाव नेप्सेमा टिक्न सकेन, हिजो उच्च अंकले बढेको बजार आज फेरि २९.०७ अंकले घट्यो

ब्याजदरको सकारात्मक प्रभाव नेप्सेमा टिक्न सकेन, हिजो उच्च अंकले बढेको बजार आज फेरि २९.०७ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
ब्याजदर घटेसँगै हिजो उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज भने फेरि दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से २९.०७ अंकले बढेर १ हजार ९ सय ३४ दशमलव ४७ विन्दुमा बन्द भएको छ । हिजो बुधवार नेप्से ९२.२२ अंकले बढेर १ हजार ९ सय ६३ दशमलव ५५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजारमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा आज १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।        

नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।