एफएनसीसीआईमा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

एफएनसीसीआईमा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
उद्योगि व्यवसायीको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि बैठकमा सहमति नजुट्दा ढिलोगरि मतदान सुरु भएको छ ।

काठमाडौंको कमलादि स्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी ४ बजेसम्म जारि रहने महासंघ निर्वाचन समितिले जानकारी दिएको छ ।

यो पटकको चुनावमा ६४ पदका लागि १ सय १८ जनाको उम्मेद्वारी परेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा ३ जनाको प्रतिस्पर्धा हुँदैछ, उक्त प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ भने ३ उपाध्यक्षको लागि ८ जना बिच प्रतिस्पर्धा हुँदैछ ।

बरिष्ठ उपाध्यक्ष तर्फ ३ जना प्रतिस्पर्धी रहेको कारण यो पटक बरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा जाने पक्का पक्कि जस्तै छ । महासंघको चुनावी इतिहासमा पहिलोपटक तीन जना बरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन । महासंघको बरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जान श्रेष्ठ प्रतिस्पर्धा गर्दै छन् ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा २ जनाबीच भिडन्त हुँदै छ । ज्योत्सना श्रेष्ठ रामचन्द्र संघईको टिमबाट एसोसिट उपाध्यक्ष तर्फ चुनावी मैदानमा छिन् भने उनिसँग प्रतिस्पर्धा गर्न उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेद्वारको रुपमा भरत आचार्य रहेका छन् ।

त्यस्तै रामचन्द्र समूहबाट जिल्लानगर उपाध्यक्षमा शुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तलाल हिराचन छन् भने उमेशलाल समूहबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल छन् । अन्जान समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मणिषलाल प्रधान छन् ।

महासंघको निर्वाचन कार्यतालिका अनुसार आज साझबाटै मतगणना सुरु हुँने जनाइएको छ ।