महालक्ष्मी विकास बैंकको ११% ब्याज दिने ऋणपत्र आजबाट बिक्री खुला

महालक्ष्मी विकास बैंकको ११% ब्याज दिने ऋणपत्र आजबाट बिक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आज (चैत २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद तोकिएको छैन । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।