बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा वैशाखदेखि बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशत कायम गर्ने सहमति गरेको छ ।
मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिविफिनका वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताएका छन् ।
सोही सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन कुमार गोल्यानले वैशाखदेखि ब्याज घटेर ९.९ प्रतिशत हुने बताएका छन् । ब्याज मात्र तिर्न धौ धौ परेको कारण ब्याजदर घटाउनु आवश्यक रहेको गोल्यानले बताएका छन् ।
बैंक तथा वित्तीय संस्था परिसंघको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । ‘भारतमा ६ प्रतिशत ब्याजदर छ, नेपालमा ११ प्रतिशत छ, हामीले ९.९ प्रतिशत हुनुपर्ने माग राखेका छौं, अहिले ब्याज बढी भएपनि निक्षेप बढेको छैन’, थप प्रष्ट पार्दै उनले भने ‘वैशाखदेखि ९.९ प्रतिशत हुन्छ, जेठपछि ८ प्रतिशत हुन्छ ।’
अध्यक्ष गोल्यानका अनुसार वैशाखदेखि संस्थागत तर्फको ब्याजदर पनि ६ प्रतिशतमा सिमित हुनेछ ।
निक्षेपको ब्याजदर घट्ने भएसँगै कर्जाको ब्याजदर पनि घट्ने आशा गरिएको छ यसले ऋणीलाई राहत हुनेछ ।
प्रतिक्रिया