बैंकिङ्ग समाचार, काठमाडौं ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज (चैत २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको शेयर सहित सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया