बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तले मर्जरको प्रस्ताव पारित गर्न वैशाख १० गते विशेष साधारणसभा डाकेका छन् । गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले विशेष साधारण सभामार्फत मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन ।
मिर्मिरे लघुवित्तले होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउसो १२:३० बजे साधारणसभा गर्न लागेको हो भने नेरुडे लघुवित्तले उद्योग संगठन मोरङको सभाहल विराटनगरमा विहान ११ बजे साधारणसभा गर्न लागेको हो ।
मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेपलाञ्चोक जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था समान हैसियत अर्थात् १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन ।
मर्जरपछि बन्ने कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त हुने छ । कम्पनीको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकमा रहने छ। कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौं उपत्यका बाहिर हुने जनाएको छ ।
दुवै कम्पनीको विशेष साधारण सभामा मर्जर सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जर पछि बन्ने कम्पनीको नाम र कार्यालय पारित गर्ने, डिडिए रिपोर्टका आधारमा तय गरिएको १ः१ को स्वाप पारित गर्ने जनाएको छ । सभाले मर्जरको लागि हालसम्म भएका कार्य अनुमोदन गर्ने, मर्जर सम्बन्धि अन्य बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।
सभाले मर्जरपछि एफपिओ निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि दुवै लघुवित्तले वैशाख ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । चैत्र ३० गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।
प्रतिक्रिया