बैंकिङ्ग समाचार, काठमाडौं ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संशोधन गरी १५ प्रतिशतमा सिमित गरिएको छ । अब कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश दिने भएको हो । चैत २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया