बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि विक्रीमा ल्याएको कुमारी सुनौलो लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत चैत ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कुमारी सुनौलो लगानी योजनाको इकाई आज अर्थात् चैत २३ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । योजनाको इकाई छिटो अवधि चैत १३ गतेसम्म रहेपनि माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री गरेको हो ।
योजना व्यवस्थापक कुमारी क्यापिटलले सञ्चालन गर्न लागेको खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि १० करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।
क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।
यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
योजनाको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया