बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटि होटल लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज अर्थात् चैत २१ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सर्वसाधारण लगानीकर्ताले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो अवधिसम्ममा पनि पूर्ण आवेदन नपरेमा भने निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
पहिलो चरणको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले उक्त कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया