बैंकिङ समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले चैत २८ गते धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो १ बजे १४औं वार्षिक साधारण सभा बोलाएको छ ।
यसका साथै सभाले एफपीओ निष्काशन गर्ने, विजय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, सोसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर पश्चात विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रिया