ग्लोबल आइएमई लघुवित्तले शेयरधनीको बैंक खातामा जम्मा गर्‍यो ८% नगद लाभांश

ग्लोबल आइएमई लघुवित्तले शेयरधनीको बैंक खातामा जम्मा गर्‍यो ८% नगद लाभांश


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । 

कम्पनीले गत फागुन २४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत फागुन २८ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुुरु गरेकाले आफ्नो लाभांश प्राप्त भए नभएको एकिन गर्नुसमेत कम्पनीले अनुरोध गरेको छ ।

नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन पनि कम्पनीले भनेको छ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिने जानकारी कम्पनीले दिएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् । 

बुकक्लोजको अघिल्लो दिनसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि वितरण गरिनेछ । सो मिति पश्चात कर्जा भुक्तानी भएका सदस्यहरूको लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र वितरण गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।