बैंकिङ्ग समाचार, काठमाडौं ।
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजन प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।



About Us
प्रतिक्रिया