वित्तीय साक्षरता अभिवृद्धिको उदेश्य सहित ‘ग्लोबल मनि विक २०२३’ सुरु

वित्तीय साक्षरता अभिवृद्धिको उदेश्य सहित ‘ग्लोबल मनि विक २०२३’ सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२३’ को उद्धघाटन गरेको छ । सोमबार ललितपुरको हिमालय होटलमा एक कार्यक्रम गर्दै राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२३’ को उद्धघाटन गरेको हो । 

बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ ‘ग्लोबल मनि विक’ विभिन्न कार्यक्रमका साथ मनाउन सबै सम्बद्ध संस्था वा निकायलाई आग्रह गरेको छ । 

\"\"

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्तिबढी रहेको धारणा राखेका छन् । उनले भने ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।”

\"\"

वार्षिकरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो । विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको केन्द्रीय बैंकले जनाएको छ ।

दशौँ शृङ्खलाका रुपमा सन् २०२२ मा मनाइएको ‘ग्लोबल मनि विक’ मा प्रत्यक्षरुपमा १०९ र भर्चुअल माध्यमबाट १७० मुलुकका ४ करोडभन्दा बढी युवाको सहभागिता रहेको थियो ।

\"\"

सोमबारदेखि मार्च २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर यो कार्यक्रम मनाउन लागिएको छ । साप्ताहिक कार्यक्रममार्फत युवामा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस वर्ष नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैरबैंक वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्नेछन् ।

\"\"