नेप्सेको घट्ने क्रम जारीः साताको अन्तिम दिन ५.३२ अंकको गिरावट, १ अर्ब १४ करोडको कारोबार

नेप्सेको घट्ने क्रम जारीः साताको अन्तिम दिन ५.३२ अंकको गिरावट, १ अर्ब १४ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्सेमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ५.३२ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ३१ विन्दुमा बन्द भएको छ । हिजो बुधबार नेप्से १४.४४ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ६२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा गिरावट भएसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज नेप्सेमा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ९२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त र शुभम् पावर लिमिटेडको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ । 

आज लक्ष्मी लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यिस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ४ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ ।