वाणिज्य बैंकपछि अब विकास बैंकहरुले पनि घटाए ब्याजदर

वाणिज्य बैंकपछि अब विकास बैंकहरुले पनि घटाए ब्याजदर


बैंकिङ्ग समाचार, काठमाडौं ।
विकास बैंकहरुले पनि बैंकको ब्याजदर घटाउने निर्णय गरेका छन् । विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आज बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरिएको जनाईएको छ । यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुनेछ ।  

एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम हुनेछ । फागुनमा यस्तो निक्षेपको ब्याजदर ११.७५ प्रतिशत थियो । 

यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन् । फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

यसअघि नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको थियो ।