बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले फागुन १६ गतेदेखि विक्रीमा ल्याएको २ लाख ९६ हजार कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप भएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । यसअघि फागुन ३० गतेसम्मको विक्री अवधि तय गरिएकोमा थप गरी चैत ६ गतेसम्म कायम गरिएको हो ।
प्रतिकित्ता रू. २१९ मूल्य तोकिएको यो शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा पेश गर्नुपर्ने छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने कम्पनीले बताएको छ । शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदनसमेत उल्लेख गर्नुपर्नेछ ।
प्रतिक्रिया