प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

प्रभु स्मार्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको हो । सोमध्ये १ करोड १२ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक प्रभु बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने १ प्रतिशत वा ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।