बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज अर्थात् फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री शुरु गरेको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ। बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया