बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र साना किसान लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
यस दिन नेप्सेले साल्ट ट्रेडिङ्गको १० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत, आशा लघुवित्तको १४.२८५७ प्रतिशत र साना किसन विकास लघुवित्तको २६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात साल्ट ट्रेडिङ्गको शेयरमूल्य ३ हजार ९४० रुपैयाँ ९१ पैसा, सांग्रिलाको ३११ रुपैयाँ ४२ पैसा, आशा लघुवित्तको ७५२ रुपैयाँ ५० पैसा र साना किसानको ८८८ रुपैयाँ १० पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार साल्ट ट्रेडिङ्गको शेयर प्रतिकित्ता ४ हजार ३३५ रुपैयाँ, सांग्रिलाको ३३८ रुपैयाँ, आशा लघुवित्तको ८६० रुपैयाँ र साना किसान विकासको १ हजार ११९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
साल्ट ट्रेडिङ्गले ५६ औं वार्षिक साधारण सभा मार्फत १० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फतबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
आशा लघुवित्तले छैठौँ वार्षिक साधारण सभा मार्फत हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।
त्यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले चैत १७ गते शुक्रबार, लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांश गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साना किसान लघुवित्तको सभाले चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको कार्यकाल थप गर्ने निर्णय अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया