बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले २९औं साधारणसभा चैत २९ गते बस्ने निर्णय गरेको हो । सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्ज भइ बनेको कम्पनीले शेयरधनीहरुलाई कूल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यसका साथै गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना शेयरधनीहरु निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २.७५ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २९ करोड नाघ्नेछ ।
त्यस्तै, लाभांश वितरण गर्ने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी चैत ३ गते एकदिन बुक क्लोज गर्दैछ । यसर्थ चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया