बैंकिङ्ग समाचार, काठमाडौं ।
माई खोला हाइड्रोपावर लिमिटेडले आज अर्थात् फागुन २५ गते बिहीवारदेखि पहिलो चरणको आईपीओ विक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी रू. ३९ करोड २१ लाखभन्दा माथिको १० प्रतिशत अर्थात् रू.३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
त्यस्तै दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि चैत ९ गतेसम्म आईपीओको विक्री खुला रहनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेमा चैत २४ गतेसम्म विक्री अवधि थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया