बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छिमेक लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन लघुवित्तको २२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ८३८ रुपैयाँ ५२ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । मंगलबार लघुवित्तको शेयर दोस्रो बजारमा १ हजार २३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लघुवित्तले चैत १० गते, शुक्रबार, मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि.को सभाहलमा २१औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया