बैंकिङ्ग समाचार काठमाडौं ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले चैत १४ गते आफ्नो केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया