बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारणसभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो ।
नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ ।
त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ ।
मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।
प्रतिक्रिया