बैंकिङ्ग समाचार, काठमाडौं ।
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । प्रधानमन्त्री प्रचण्डले पुरानै गठबन्धन व्यूताएपछि माओवादी नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका नेता बिष्णु पौडेलले जानकारी दिए । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो ।
राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।
यससँगै अब दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्रि रहेका एमाले उपाध्यक्ष बिष्णु पौडेल सहित एमालेका अन्य मन्त्रिहरुले छिट्टै राजिनामा दिनेछन् ।
प्रतिक्रिया