एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६९ हजार ७२० जनाले पाए १० कित्ता शेयर

एशियन हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६९ हजार ७२० जनाले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ६ हजार ५०२ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको जानकारीसमेत विक्री प्रबन्धकले दिएको छ । योग्य १४ लाख २५ हजार ७२० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराइएको थियो । 

कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । बाँडफाँटमा ६९ हजार ७२० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । योग्य आवेदकहरूमध्ये पनि १३ लाख ५९ हजार आवेदकको हात खाली भएको छ । 

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४० लाख बराबरको शेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ । ५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ । 

हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुगेको छ ।