बैंकिङ्ग समाचार, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । यसका साथै चालु आव २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्तावलाई अनुमोदन गरेको छ ।
यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन समेत गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्रै लाभांश पाउन योग्य छन् ।
प्रतिक्रिया