बैंकिङ्ग समाचार, काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् फागुन ११ गते बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ ।
प्रतिक्रिया